कोरोनामा सरकारको लाचारीप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संकटको बेलामा अस्पतालको शैया उपलब्ध गराउन नसकिने भन्दै सरकारले देखाएको लाचारीपनःको कडा आलोचना गरेको छ । सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत गरेको निष्कर्ष कांग्रेसको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी कोरोना महामारी थेग्न नसकिने अवस्थामा रहेको र शैया उपलब्ध गराउन नसकिने भन्दै जनतालाई जानकारी गराएको थियो ।

यसले जनतामा त्रास फैलिएको छ । कोरोना भएमा र त्यसले अवस्था जटिल भएमा आफूहरुले उपचार नपाउने चिन्ता जनतामा बढेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी संकटमा हतास र त्रास हैन, विश्वास प्रवाह गर्नु सरकारको कर्तव्य हुने उल्लेख गरेका छन् ।

पूरै वर्ष दिन सत्ता द्वन्द्वमा समय बिताउने, संसद विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने सरकारले अहिले आएर बेड, भेन्टिलेटर, अक्सिजन पर्याप्त छैन भनी निरीहता प्रस्तुत गरेको कांग्रेसको छ । यो अभिव्यक्तिलाई कांग्रेसले इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भनेको छ ।

कांग्रेसले यस्ता लाचारी अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरूद्धको संघर्षमा राजयको क्षमता विस्तार गर्न सरकारलाई अपिल गरेको छ। बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिण्डरमा सरकारको वास्तविक क्षमता कति हो र संक्रमणको विस्तार कुन हदसम्म हुन सक्छ भन्ने विज्ञको अनुमान र विश्लेषणका आधारमा प्रष्ट, पारदर्शी, योजनावद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी रहेको कांग्रेसको भनाई छ ।