लुम्बिनीका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आज टेबुल हुँदै

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबुल हुँदैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा ६ वैशाखमा अविश्वासको प्रस्तवा दर्ता भएको हो । सो प्रस्ताव आजको बैठकमा पेश गर्न लागिएको हो ।

यसबारे शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्दैछन् । त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिनेछन् । अविश्वासको प्रस्तावमा सोमबार नै मतदान हुने छ ।

त्यसपछि उनको पद रहने वा नरहने टुंगो लाग्ने छ । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनिसकेका कारण पोखरेलको पद बच्ने सम्भावना छ । तर, कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सम्भावना समेत रहेका कारण मतदान सम्म कुर्नु पर्ने हुन्छ ।