काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए ।
उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । तर, एमाले भित्रका कुल चार सांसदले उनको विपक्षमा हस्ताक्षर गरेका छन् ।
पोखरेललाई प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउने तयारी गरिएपनि विपक्षीको कडा विरोधका बीच निवासमा सपथ खुवाइएको छ । यो घटनाबारे प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति घोर अलोकतान्त्रिक प्रवृत्ति भएको बताएका छन् ।
आइतबार विज्ञप्ति निकाल्दै उनले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।
उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएको बताएका छन् ।
आज एक विज्ञप्ती निकाल्दै प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको उल्लेख गरेका छन् । उनले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको जानकारी गराउँदै प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् ।