काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणमा बीच नेपालमा निषेधाज्ञा लागेको जिल्ला ४२ पुगेको छ । संक्रमित संख्या शहरमा ५ सय र पहाडमा २ सय नाघेमा निषेधाज्ञा गर्न सक्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिएको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार अहिलेसम्म अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भइसकेको छ ।
३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लागेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित २८ जिल्लामा पूर्ण निषेधाज्ञा रहेको छ । तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा घोषणा भएको छ ।
बर्दियामा आजबाट पूर्ण निषेधाज्ञा शुरु भएको छ । बझाङ र बैतडीमा सोमबारबाट निषेधाज्ञा शुरु भएको छ । अर्घाखाँचीमा समेत निषेधाज्ञा शुरु भएको छ । सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू छ ।
कास्कीमा आंशिक निषेधाज्ञा रहेको छ । कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा मंगलबार बिहानदेखि तथा दैलेखमा मंगलबार रातीदेखि निषेधाज्ञा लागू हुँदैछ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा आंशिक निषेधाज्ञा लागेको छ ।