काठमाडौं । नेपालमा आजबाट बैङ्क तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारी राखी काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ ।
राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका, हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न समेत निर्देशन दिएको छ ।
बैङ्किङ सेवा अत्यावश्यकीय सेवा भित्र पर्छ । कम कर्मचारी राखेर सेवा निरन्तरता दिन राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको छ । अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कको निर्देशन छ ।
कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत भनिएको छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने वैकल्पिक शाखा तथा समयावधिसम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।