नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा

Photo Source : Sulav Shrestha/Xinhua

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाको पछिल्लो अपडेट गराइरहँदा जनताले भने खोपको सुनिश्चितता, अक्सिजनको उपलब्धता र अस्पतालमा बेडको संख्या बढेको खबर सुन्न आतूर थिए । तर, प्रधानमन्त्रीसँग सकारात्मक कामको सूची थिएन । केवल कोरोनाको क्षति र संक्रमणको सूचि मात्र थियो ।

पार्टी विभाजन, प्रदेशहरुमा सरकार र सत्ता टिकाउन अनेक प्रयासमा सफल देखिएका प्रधानमन्त्री कोरोना रोकथाममा जति निरिह देखिएका छन्, त्यति नै शक्तिशाली बन्दै गएको छ, कोरोना संक्रमण । सोमबार नेपालमा अहिलेसम्मकै बढी संक्रमण र अहिलेसम्म बढी मानिसले ज्यान गुमाएको डरलाग्दो आंकडा आएको छ ।

नेपालमा गत २४ घण्टामा थप ७,४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । यो रेकर्ड हो । मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडका कारण ज्यान गएको छ । सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा २,०२१ जनाले कोरोना जितेको तथ्यांक आएको छ ।

आइतवार समेत ७,२११ सङ्क्रमित थपिएका थिए । यसले हरेक दिन रेकर्ड बनेको छ । मानिसहरुले अकालमा ज्यान गुमाएका छन्, तर सरकारले महामारी नियन्त्रणमा गाम्भीर्यता भने देखाउन सकेको छैन । उता, प्रधानमन्त्रीले भने महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको दावि गरे । निषेधाज्ञा अझै कडा गर्ने चेतावनी समेत उनले दिए ।