बैतडी । बैतडीमा शवलाई पोष्टमार्टम गर्न लैजाँदै गरेको एक जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य पाँच जना घाइते छन् ।
दुर्घटनामा चालकसहित ५ जनाको ज्यान गएको हो । चार जनाको घटनास्थलमै र जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।