काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी गरेको छ ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदो बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको हो । सो सन्दर्भमा संसदीय दलको बैठकमा छलफल हुने भएको हो । वैशाख २७ मा बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।