चिनियाँ खोप सिनोफार्मले पायो प्रयोगको अनुमति

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्मित कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओ पहिलो पटक पश्चिम मुलुकभन्दा अन्य मुलुकले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको छ ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । यसको प्रयोग धमाधम भइरहेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिले मात्र प्रयोग गर्न सक्ने बताएको छ । डब्ल्यूएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना रहेको बीबीसीले लेखेको छ । डब्ल्यूएचओले रुसी खोप स्पुतनिक भी को समेत मूल्यांकन गरिरहेको छ ।