अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

Photo : Jay Reeves/Associated Press

न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ ।

कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ । इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो। शुक्रवार साइबर हमलाकारीले यस पाइपलाइनको सेवा रोकिदिएका थिए । विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २.३ प्रतिशतले बढ्न सक्नेछ । तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने बीबीसीले लेखेको छ ।

विभिन्न सूत्रहरूले उक्त र्‍यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्। सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डाटामा पकड जमाएको हो ।
त्यसपछि समूहले फिरौती मागेको हो । फिरौती नदिए सबै डाटा सार्वजनिक गरिदिने चेतावनी साइबर हमलाकारीको छ ।