काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन नेपाल तथा विदेशमा रहेका नेपालीले आमाको सम्मान र सत्कारसहित पर्व मनाउँदैछन् । जन्मदाता आमालाई सम्मान गरी मिठो खुवाउने, उपहार दिने र आर्शिवाद लिने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा खान दिई र आशीर्वाद लिने गर्छन् ।
आमा नहुनेहरु आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान दिने गर्छन् । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लाग्छ । तर, यो वर्ष भने सरकारले निषेधाज्ञा घोषणा गरेका कारण मेलामा जान पाइने छैन । घरमै बसेर आमाप्रति सम्मान दर्शाउनु पर्ने बाध्यता यो यो वर्ष रहेको छ ।