बिहार । भारतको उत्तर प्रदेश तथा बिहारको सीमा क्षेत्रमा गंगामा सयौं शव भेटिएपछि यसले यो भेगमा ठूलो मानवीय क्षतिको संकेत गरेको छ । मंगलबार गंगामा तैरिरहेका ७१ शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि अघिल्लो दिन मात्र एक सय भन्दा बढी शव मिलेको खबर सार्वजनिक भएको थियो । यसको यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन ।
बिहारको चौसास्थित गंगा नदीको महादेव घाट आसपास अघिल्लो दिन कैयौं शव भेटिएका थिए । मंगलबार भेटिएका ७१ शवको समेत पोष्टमार्टमपछि गाडिएको छ । बक्सर जिल्ला प्रशासनले यसको जानकारी गराएको हो । यो घटनासँगै घाट आसपास सरकारले प्रहरी खटाउने निर्णय समेत गरेको छ । आगामी दिनमा यस प्रकारका घटना नदोहोरिउन भनेर सो कदम उठाउन लागिएको प्रशासनको भनाई छ ।
खासगरी कोरोनाबाट उच्च मानवीय क्षति भएको र मृत्यु भएकालाई जलाउन दाउराको उच्च मूल्य तिर्न नसकी लास गंगामा बगाएको हुन सक्ने आशंका गरिएको छ । उता, मोदी सरकारका जल शक्ति मन्त्री गजेंद्र सिंह शेखावतले गंगा नदीमा शव मिल्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस विषयमा गम्भीर हुन राज्य सरकार सँग आग्रह गरेका छन् । उनले गंगाको निर्मलता र अविरल प्रवाहका लागि सरकार कटिवद्ध रहेको समेत बताएका छन् ।