काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका कारण इजरायलमा रहेका नेपाली समुदाय समेत त्रसित बनेका छन् । इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन आहृवान गरेको छ । दूतावासले बुधबार एक अपील जारी गर्दै विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको र जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको उल्लेख गरेको छ ।
हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको जानकारी राजदूत डा. अन्जान शाक्यले गराएकी छिन् । यसले सबैलाई त्रसित तुल्याएको भन्दै उनले नआत्तिन तथा सम्भव भएसम्म सुरक्षाका उपायको खोजी गर्नेतर्फ लाग्न सबैमा अनुरोध समेत गरेकी छिन् ।
उनले साइरन बज्नासाथ घर भित्रभए बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न समेत सुझाव दिएकी छिन् । त्यो उपलब्ध नभए सुरक्षित हुने उपाय अपनाउन उनले आग्रह गरेकी छिन् । कुनै समस्या परे दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत उनले अपील गरेकी छिन् ।