शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट

तस्बिर : अलेक्जेण्ड्रा वेकासियो -कोर्टेज

न्यूयोर्क

फेसबुकमा दिनहुँ सयौं झुठा हेडलाईन भएका समाचारहरु पोष्ट भएका हुन्छन् । पाठकलाई आकर्षित गरी लिंक थिच्न वाध्य पार्ने यस्ता झुठा शिर्षक भएका फेसबुकमा देखिने समाचारमा शिर्षक मात्र पढेर कमेन्ट गर्ने २ जना प्रहरी अधिकृतको अमेरिकामा जागिर नै गएको छ । लुजियाना राज्यका एक प्रहरी अधिकृतले न्यूयोर्क राज्यकी डेमोक्र्याटिक पार्टीकी प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रा वोकासियो – कोर्टेजलाई लक्षित गर्दै “शुड बि शट्” भन्दै झुठो समाचार शेयर गरेर क्याप्सनमा लेखेपछि उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
लुजियाना राज्यको ग्रेट्ना पुलिस डिपार्ट्मेन्टमा कार्यरत प्रहरी अधिकृत चार्ली रिस्पोलीले आफ्नो ब्यक्तिगत फेसबुक पेजमा लेखेको उक्त हिंसात्मक कमेन्टलाई एन अो एल ए (NOLA) डट कमले पहिलो पटक प्रकाशित गरेको थियो । फिलाडेल्फिया प्रहरीका केही बहालवाला प्रहरी अधिकृतहरुले गत हप्ता नस्लबादी स्टाटस् फेसबुकमा लेखेपछी १३ जना प्रहरीलाई जागिरबाट निकालिएको र ५० जनालाई सस्पेन्ड गरिएको केही दिनपछि लुजियानाका प्रहरीले फेसबुकमा लेखेको यो दोश्रो राष्ट्रिय घटना हो । रिस्पोलीले Tatersgonnatate डट कम नामक एक डोमिनले प्रतिनिधि सभा सदस्य कोर्टेजको भनाई भन्दै – “हामीले सेनालाई अधिकतम तलब दिंदै आएका छौ” शिर्षकमा प्रकाशित लिंक राखेर उक्त हिंसात्मक कमेन्ट गरेका थिए । रिस्पोलीले कोर्टेजले कँग्रेसमा काम गर्नुभन्दा पहिला गर्दै आएको बार टेन्डरको जागिर खान गए हुने भनेर पनि कमेन्ट गरेको र उनीसंगै काम गर्ने अर्का प्रहरी अधिकृत एन्जेलो भारिस्कोले कमेन्टमा पटक पटक लाईक गरेका कारण दुबै प्रहरी अधिकृत जागिरबाट निकलिएको सि बि एस न्युजले लेखेको छ । घटनालाई ग्रेट्ना प्रहरी प्रमुखले “आफ्नो डिपार्टमेन्टको लागि उदेक लाग्दो” भनेर प्रतिकृया दिएका छन् । प्रहरी अधिकृत रिस्पोलीले लेखेको उक्त पोष्ट र कमेन्टलाई गत शुक्रबार अनुसन्धानमा लिईएको थियो भने शनिबारदेखि रिस्पोलीको फेसबुक पेज बन्द गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ जना महिला प्रतिनिधि सभाका सदस्य लक्षित गर्दै आफ्नो ट्विटरमा “आफ्नै देश फर्किनु” भन्ने आसयको पोष्ट गरेपछि पछिल्लो समय अमेरिकामा नस्लबादी कृयाकलापमा बृद्धि भएको छ । गत हप्ता न्यूयोर्क कुईन्समा एक हिन्दू पूजारीलाई कुटिएको छ भने गत शुक्रबार जर्जियास्थित एक सुपर मार्केटमा पैसा तिर्ने लाईनमा बसेको समयमा ईरिका थोमस नामकी डेमोक्र्याटिक दलमा विश्वास राख्ने एक अफ्रिकन अमेरिकन महिलालाई श्वेत बर्णका एक ब्यक्तीले “गो ब्याक टु योर वन कन्ट्री” भनेको समाचार सार्वजनिक भएको थियो । गत ९ तारिक न्युयोर्क ब्रोंक्स स्थित एक निर्माण काममा हेलमेट लगाएर काम गर्दै गरेकी एक हिस्पेनिक मुलकी महिलालाई अर्की एक महिलाले “गो ब्याक टु योर कन्ट्री” भन्दै उनकै हेलमेट थुतेर कुटेको समाचार पनि सार्वजनिक भएको थियो ।