न्यूयोर्क
नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् ।
कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड- १९ कोअर्डिनेटर जेरेमी कोनिन्डिकलाई नेपाललाई अमेरिकी सरकारले पुर्याउने सरयोग बारे प्रश्न गरेका हुन् । सिनेटर मर्फीले नेपालमा भाइरस संक्रमणको अवस्था छिमेकी भारतको जस्तै भयावह हुन नदिन सरकारले के सहयोग गर्न सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै सिनेटर सहिनले समाचारहरुमा तीब्र रुपले नछाए पनि नेपालमा भाइरस संक्रमण उच्च रहेको तथ्यांक आफ्नो राज्यमा बसोबास गर्ने नेपालीहरुले आफुलाई सुनाएको बताएकी थिइन् ।
जवाफमा कोनिन्डिक नेपाललाई कोभिड -१९ सँग जुध्न दुई करोड ३७ करोड डलर (करिब साढे दुई अर्ब रुपैयाँ) अमेरिकाले छुट्याएको र त्यसमा पनि एक करोड डलर हालै मात्र विनियोजन गरिएको जवाफ दिए । नेपाललाई भाइरस टेष्टिङ देखि अन्य अत्यावश्यक स्वास्थ्य उपकरणमा तुरुन्त सहयोग पुर्याउने उनले बताएका थिए ।
अमेरिकामा भ्याक्सिन हान्ने संख्या बढेसँगै भाइरस नियन्त्रण उन्मुख देखिए पनि भारत लगायत देशमा पछिल्लो समय तीब्र संक्रमण बढेपछि सिनेटको बैदेशिक सम्बन्ध समितिले ‘कोभिड-१९ पेन्डामिक एन्ड द युएस इन्टरनेशनल रेस्पोस्स’ शिर्षकको सुनुवाइ आयोजना गरेको हो ।