आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।

औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा मात्र व्यक्ति घर बाहिर निस्किन पाउने छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्ति राखेर निरन्तर काम गर्नुपर्नेछ ।

निषेधाज्ञामा बिहान १० बजेसम्म भने अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला रहने छन् । सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म चलाउन पाइने छैन । हवाई आन्तरिक उडान अनिश्चित कालका लागि बन्द भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । घरमा दश जनासम्म उपस्थित भएर यस्तो कार्य गर्न सकिने छ ।