काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । आइतबार मात्रै हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो ।
नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७५० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड बनाएको थियो ।
यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज पनि साढे ९ अर्ब बढीको कारोबार भएको छ ।
यस्तै, नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण सवा ३८ खर्ब पुगेको छ । यो हालसम्मकै धेरै र देशको जीडीपीभन्दा पनि धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख ६१ करोड १३९ रुपैयाँ बढीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियालीे छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ११८.३९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४३.५६ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १३१कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम ४२ करोड र शिखर इन्स्योरेन्स ३१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत्को मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, समता घरेलु लघुवित्त, राधि विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, वरुण हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।