वासिंटन डिसी । स्वदेशमा खोप अभियान तिब्र बनाएको अमेरिकाले जुन महिनाको अन्तिमसम्म अन्य मुलुकलाई खोप दिन शुरु गर्ने भएको छ । अमेरिकाले करीव ८ करोड डोज खोप विभिन्न मुलुकलाई दिने तयारी गरेको हो । राष्ट्रपति जो बाइडेनले यस्तो जानकारी गराएका छन् । उनका अनुसार जुन महिनाको अन्तिमसम्म संसारका विभिन्न मुलुकले अमेरिकी खोप पाउने छन् ।
उनले कुन देशले कति खोप पाउने भन्ने चाँही खुलाएनन् । यसरी हुने वितरण अनुदान हो वा बिक्रि भन्ने समेत खुलेको छैन । ह्वाइट हाउसमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अमेरिका बाँकी संसारका लागि खोपको माग आपूृर्ति गर्न तयार रहेको बताएका हुन् । अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले जुन मुलुकलाई अस्थिर बनाए पनि त्यसको असर र खतरा अमेरिकामा समेत हुने भन्दै उनले खोप वितरण गरिने जनाएका हुन् ।
अहिले अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोप आपतकालिन प्रयोगमा अनुमति दिइसकेको छ । अक्सफोर्ड, अष्ट्राजेनेकाको खोपले भने अनुमति पाएको छैन । सोहीकारण अमेरिकाले ती कम्पनीबाट निर्मित ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई प्रदान गरेको छ ।
अमेरिकाले रूस र चीनले भन्दा बढी खोप बाँकि विश्वलाई बाड्ने योजना बनाएको छ । यसवापत कुनै शर्त वा सहयोग भने नमाग्ने रणनीति अमेरिकाको छ ।