काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनु नपर्ने भएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
अदालतले शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिइएको छ ।
सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आदेशमा निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा सोमबार रिट दर्ता भएको थियो ।
राष्ट्रपति भण्डारीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य उच्चारण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए ।
उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ र ‘ईश्वर’ भन्ने शब्द छुटाएका थिए ।