काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।
अन्तर्राष्टिय संचार माध्यम वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको हो ।
बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचारमा जनाइएको छ । अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) विक्री गर्न लागेकोजनाइएको छ । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ ।
गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले हतियार विक्रीको प्रस्तावलाई रोक लगाउन सक्ने भए पनि यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ ।
गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दुई सातामा बिते पनि तत्काल युद्ध अन्त्य हुने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २१२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।