काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको बजार ७ कारोबार दिन पछि करेक्शन हो ।
यससाताको ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड बनेको छ ।
आज एकैदिन करिब ११ अर्ब ९५ करोडको कारोबार हुँदै कारोबार रकमले नयाँ इतिहास रचेको छ । यो नेपाली सेयर बजार इतिहासमै सबैभन्दा धेरै हो । यसअघि हिजो सर्वाधिक ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस्तै, आज सर्वाधिक २ करोड ५१ लाख कित्ता सेयर कारोबार हुँदै नयाँ रेकर्ड बनेको छ । यो इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै कित्ता कारोबार हो । यसअघि हिजो २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर किनबेच भएको थियो ।
आज सेयर बजार मापक सूचक नेप्से १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् ।व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३५.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूह १५७.५४ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५५ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ४५ करोड र नेशनल हाइड्रोपावर ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, रुरु जलविद्युत्, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।