लमजुङ । पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच भूकम्पले त्रसित बनाएको छ । यहाँ पछिल्लो २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राससका अनुसार जिल्लाको मर्स्यांदी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता बिहीबार बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा उक्त संख्यामा धक्का महसुस गरिएको छ । यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्प गएको छ ।
चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ। बुधबारको भूकम्पले जिल्लामा छ जना घाइते भएको खबर छ । २०० घरमा क्षति पुगेको छ ।