नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार इराक जाँदै, महत्वपूर्ण चार खेलको तयारी

तस्वीर : एन्फा

काठमाडौं । नेपाली राष्ट्रिय फुबटल टोलीका लागि जेठ महिना महत्वपूर्ण छ । किनकी यो खेलबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति प्रमाणित गर्न सक्ने छ । नेपालले यो महिना कुल चार वटा प्रतिस्पर्धा गर्दैछ, सबै खेल बलियो टोलीविरुद्ध हुने छ । यसमध्ये एक खेल मैत्रीपूर्ण हो भने अन्य तीन खेल भने विश्वकप २०२२ को छनोट चरणका खेल हुन् ।

इराकसँगको मैत्रिपूर्ण खेलका लागि टोली आगामी मंगलबार चार्टर्ड उडानबाट इराक जाने तय भएको छ । यसका लागि कतार एयरवेजको जहाज चार्टर्ड गर्ने तयारी छ । इराकमा एक खेल खेल्ने नेपाल उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न कुवेत जाने छ ।

तालिका अनुसार यी खेल नेपालमा हुनुपर्ने थियो । तर, महामारीका कारण नेपालमा खेल गर्न नसकिने भन्दै भेन्यु तटस्थ स्थानमा सारिएको हो । यस पटक नेपालको प्रशिक्षक अबदुल्लाह अलमुताइरी छन् । उनी पहिलो पटक नेपालको टीम सम्हाल्दैछन् ।

तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेका छन् । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ ।