राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । एमाले ओली पक्षको गुटबाहेक अन्य राजनीतिक दल महामारीमा निर्वाचन भन्दा जनजिविका सहज बनाउन लाग्नुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्रीको भित्रि इच्छा पुरा गर्दै अन्ततः मुलुकमा निर्वाचन घोषणा भएको हो ।

यस सम्बन्धमा आफ्नो औपचारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेपछि कांग्रेस रुष्ट बनेको हो । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूको भनाई छ ।