महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदमको रुपमा लिइएको छ । यो कदमको भने सशक्त प्रतिवाद गर्ने निर्णय पार्टीले गरेको छ ।

त्यसका लागि कोरोना महामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको प्रचण्डले उल्लेख गरेका छन् । यसअघि शनिबार नै बसेको विपक्षी मोर्चाको बैठकले संसद विघटनबारे साझा धारणा बनाएर सार्वजनिक गरिसकेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण मूख्य प्राथमिकता हुनुपर्नेमा सरकार यसतर्फ उदासिन रहँदा यसले बहुआयामिक क्षेत्रमा असर पुग्ने समेत माओवादीको निष्कर्ष छ । पार्टीले महामारी नियन्त्रणमा आफ्नो शक्ति परिचालनको निर्णय समेत गरेको छ ।