अन्ततः फुटको संघारमा एमाले

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि निर्णय लिएका छन् ।

उनले सोमबार ११ जना सांसदलाई पार्टीबाट निकालेका छन् । यी बाहेक थप १२ जनालाई आज स्पष्टीकरण सोधिएको छ । उनीहरुले पनि चित्त बुझ्दो स्पष्टीकरण नदिएमा पार्टीबाट निकालिने छ । एमालेले नेताहरुलाई निकालेसँगै एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

ओलीको दम्भका कारण उनीसँग सहयात्रा गर्न नसकिने निष्कर्षसहित माधवकुमार नेपालससहित वरिष्ठ नेताहरु अन्ततः नयाँ पार्टी घोषणाको तहमा पुगेका हुन् । यो पार्टीको सहकार्य माओवादी केन्द्रसँग समेत हुने छ । जसले कम्यूनिष्ट एकताको आधार पुनः तय गर्ने अपेक्षा लिइएको नेताहरुको भनाई छ । ओलीसँगको संघर्षमा भने माधवकुमार नेपाल समुहले कांग्रेस र माओवादी केन्द्रलाई खुलेर साथ दिएको छ ।