नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् ।

ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उपविदेशमन्त्री शेर्मनले महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गरेको बताइएको छ ।

प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे । उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो ।


आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।