उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

file

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । १३ जेठसम्म निषेधाज्ञा गरेको सरकारले यसबीचमा अपेक्षित संक्रमण कम नभएपछि लम्ब्याउने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने र यस बीचमा थप कडाईका निर्णयहरु समेत आज सार्वजनिक गर्ने तयारी छ ।

स्वास्थ्यका मापदण्ड र निषेधाज्ञाका नियम पालना नगरे कडा कारवाही गर्नेसहितका नियम राखेर सरकारले अध्यादेश ल्याएको छ । सो अध्यादेश अनुसारका आदेश आज जिल्ला प्रशासन कार्यालयहरुबाट हुने भएको हो । कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले वैशाख १६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थालेको हो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइसकेको छ । अहिले देशभर ७५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।