काठमाडौं । बहराइनले एसियाका पाँच मुलुकबाट सो देशमा छिर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण नेपालसहित पाँच मुलुकबाट आउन अस्थायी निषेध लगाइएको हो । राससका अनुसार भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान पाइने छैन । यी देशहरुलाई बहराइनले “रेड लिष्ट” मा राखेको छ ।
आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको छ । बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पिसिआर रिपोर्ट नेगेटिभ देखाएमा क्वारेन्टाइनमा बस्नु पर्ने छैन । बहराइन धेरै नेपाली नागरिकले रोजगारी गर्ने मुलुक हो ।