काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ ।
मंगलबारबाट देखिएको प्रभाव शुक्रबार सम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । मङ्गलवार बिहानदेखि इलाम लगायत पूर्वी क्षेत्रमा पानी परेको छ। यसले आगामी दुई, तीन दिन देशका विभिन्न भागमा प्रभाव पार्ने प्रक्षेपण गरिएको विभागको भनाई छ ।
उक्त चक्रवात बुधवारसम्म उडिसा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागले अनुमान गरेको छ । नेपालमा बिहीवार र शुक्रवार धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी समेत आउने छ । विभागले सगरमाथा सहित हिमाली क्षेत्रहरूमा सतर्क रहन पनि सचेत गराएको छ।