काठमाडौं । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि भएको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका योगेश भट्टराई र हस्ताक्षर गरेपछि नखुलेका गोकर्ण विष्ट पुनः माधव नेपाल समुहमा खुलेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादि शैलीमा कारबाहीको डण्डा चलाएको भन्दै आज १५ स्थायी कमिटी सदस्यको वक्तब्य आएको छ । यो समुहमा भट्टराई र विष्ट समेत खुलेका छन् ।
एमालेको ओली समुहले पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यो कदमलाई नेताहरुले निरंकुश तानाशाही निर्णय भएको बताएका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग समेत गरेको छ ।
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको समेत नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेमतो गरेर संसद विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेको भन्दै नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।
प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएको समेत उनीहरुको भनाई छ । यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले राज्ययन्त्र, सत्ता र सरकारको चरम दुरुपयोग गरेको र उनको कामकारबाहीले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत् भएको नेपाल समूहले बताएको छ ।
विज्ञप्ती निकाल्ने १५ स्थायी कमिटी सदस्य
झलनाथ खनाल
माधव कुमार नेपाल
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
भीम रावल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण बिष्ट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
रघुजी पन्त
बेदुराम भुसाल
अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य
प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य