काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।
प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह समेत गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको छ ।
प्राधिकरणले भारी हिमपात हुने भन्दै हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन भनेको छ । प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।