यूरोपा लिगको फाइनलमा २१ पेनाल्टी, भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हरायो

पोल्याण्ड । फुटबलको रोमाञ्चकताको उत्कृष्ट रुप हो पेनाल्टी सुटआउट । सामान्यतया दुबै टोलीबाट ५\५ पेनाल्टी प्रहार गरिसक्दा नतिजा आइसक्छ र विजेता घोषणा हुन्छ । तर, बुधबार राती युरोपा लिग फुटबलको फाइनल खेल हेर्ने दर्शक भने यो भन्दा उच्च प्रकारको रोमाञ्चकता देख्ने भाग्यशाली दर्शक बने । लिगको उपाधि भिल्लारियलले जितेको छ ।

रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गरे र खेल बराबरीमा आयो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल थप हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो १०\१० वटा पेनाल्टीसम्म दुवै टोलीले बराबरी भए । ११ औं पेनाल्टी म्यानचेस्टर युनाइडेटले खेर फाल्यो । भिल्लारियलका रुल्लीले हिरो हुने मौका गुमाएनन् र टोलीलाई उपाधी जिताए । खेल पोल्याण्डमा भएको थियो । यहाँ १० हजार दर्शकलाई मैदानमै प्रवेश अनुमति थियो ।