नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।
दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन् ।
दिल्लीको सर गंगाराम अस्पतालमा यसको पहिलो बिरामी भेटिएका थिए । त्यसयता दिल्लीको म्याक्स, अपोलोसहितका ठूला अस्पतालमा समेत पुष्टी भएको छ । यो रोगका कारण कैयौं मानिसहरुले ज्यान समेत गुमाउन परेको भारतीय संचारमाध्यमले लेखेका छन् । सरकारका अनुसार अहिलेसम्म यो रोगका कारण ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सर गंगाराम अस्पतालका वरिष्ठ ईएनटी विशेषज्ञ डा. मनीष मुंजाललाई उदृत गर्दै बीबीसीले लेखे अनुसार यो एक गम्भीर प्रकृतिको रोग हो, तर डराउनु पर्ने अवस्था भने छैन । यो रोग प्रतिरोधात्मक क्षमता कम हुने मानिसमा देखा पर्छ । यसले खासगरी आँखासहितका अंगमा कालो ढुँसी देखिन र आँखा नै निकाल्नु पर्ने अवस्था आउन समेत सक्छ ।
कोरोना भन्दा अगाडी यो रोग कीमोथेरापी, अनियन्त्रित डायबिटीज, ट्रान्सप्लान्टका बिरामी तथा वृद्धवृद्धामा देखिने गरेको थियो । तर, कोरोना महामारी पछि भने कोरोना जितेका बिरामीमा समेत देखिन थालेको छ ।