काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ। चीनले कोभिड १९ र चीनको वुहान शहरस्थित अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको समेत स्पष्ट पारेको छ । कोभिड १९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो। त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् । ३५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए । यसलाई आधार मान्दै वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।
उता, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले समेत यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको बताएको थियो । यता, अमेरिकी सञ्चारमाध्यमले भने भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने भन्दै समाचार प्रकाशित गरिरहेका छन् ।