काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलन मै उत्रिएका छन् । बिहीवार राति दाङका एकजना सङ्क्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घटनाको पुष्टी गर्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।
स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेसागत धर्म निभाउने वातावरण बनाउन समेत मन्त्रालयले अपील गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथिको घटना सह्य नहुने बताए । बिरामीको उपचारमा खटिएका डा. चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएको अस्पतालका स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई नियन्त्रणमा लिइएको छ। आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उक्त घटनाबारे सान्त्वना व्यक्त गर्ने क्रममा भने राष्ट्रपति विद्यादेवि भण्डारीको व्यापक आलोचना भएको छ । उनले दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्ने भन्दै घुमाउरो पारामा आक्रमणकारीको बचाउ गर्न खोजेको संकेत धेरैले गरेका छन् । राष्ट्रपतिले यस्तो भनेकी छिन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड १९ को उपचारमा संलग्न भेरि अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’