काठमाडौं । नेपालमा पछिल्लो १५ वर्षमा कतिपय लोपोन्मुख वन्यजन्तुको संख्या करीव दोब्बरले बढेको पाइएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार बाघ र अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले बढेको छ । अब नेपालमा बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ पुगेको तथ्यांकले देखाएको छ ।
गैंडाको संख्यामा भने अझै पनि चूनौति रहेको पाइएको छ । सन् २००० मा नेपालमा ६१२ गैँडा थिए । सन् २०११ को गणनामा यो घटेर ४३४ मा आएको थियो । सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको सङ्ख्या ६४५ पुगेको थियो । पछिल्लो गणनामा ७५२ पुगेको देखिएको छ । तर, गैंडाको मृत्युदर समेत उच्च रहेको छ । सन् २०१८ मा ३२६ वटा कृष्णसार रहेकोमा सन् २०२० मा ३४६ पुगेको छ ।
तथ्यांक अनुसार नेपाल भर ४७३ गौरीगाई, १९८ घडियाल गोही, ३०१ देखि ४०० हिउँचितुवा र दुई हजार ३५१ बह्रसिंहा रहेको देखिएको छ । नेपालमा ५९ लाख ६२ हजार हेक्टर जमिन वन क्षेत्रले ढाकेको छ । झाडी तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर जमिन ढाकेको छ । कुल भूभागको ४०.४ प्रतिशत वन र ४.४ प्रतिशत झाडी बुट्यान क्षेत्रले ढाकेको पाइएको छ ।
आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश नं २ मा रहेको तथा प्रदेशको कुल भूभागको सबैभन्दा बढी वन क्षेत्र सुदूरपश्चिममा र सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ । नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र समेत २० संरक्षित क्षेत्र स्थापना गरी मुलुकको ३४ हजार ४२० वर्ग किमी अर्थात २३ दशमलव चार प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणालीमा आवद्ध छ ।