शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । सरकारले यसअघि ७ लाखसम्मको सीमा बढाएर २५ लाख पुर्याएको हो । विगतमा पनि निकै प्राथमिकताका साथ घोषणा भएपनि कार्यान्वयनमा असफल भएको कार्यक्रमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः प्राथमिकतामा राखेका छन् ।

उनका अनुसार स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने छन् । चालू आर्थिक बर्षसम्म यो कार्यक्रमबाट ऋण पाउने सीमा ७ लाख रुपैयाँसम्म मात्र रहेको छ । ऋण रकमलाई एकै बर्षमा तीन गुणा बढाइएको छ । यो कार्यक्रम अर्थमन्त्री विष्णु पौडेलले शुरु गरेका हुन् ।