भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने

काठमाडौं\एजेन्सी । एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको हाइब्रिड भेरियन्ट पुष्टी भएको छ । संचारमाध्यमहरुका अनुसार यहाँ भारतीय र युके भेरियन्टका दुबै विशेषतासहितको भाइरस पुष्टी भएको छ । यो हावाबाट पनि सर्न सक्ने बताइएको छ । यहाँ कोरोना भाइरस करीव नियन्त्रणमा थिए । भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङका अनुसार यो भेरियन्टमा इन्डियन भेरियन्ट जस्तै तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता पाइएको छ ।

यो भेरियन्टको भाइरस हावाका माध्यमबाट छिटो फैलिने पुष्टी भएसँगै अझै घातक हुने सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । भियतनाममा ६ हजार ८ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ ४७ जनाले मात्र ज्यान गुमाएका छन्। भियतनाम कोरोना नियन्त्रण गर्न सफल मुलुकमध्ये मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र थप जानकारी पुष्टी नभएको प्रतिक्रिया दिएको छ ।