काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।
साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३८४ कित्ता शेयर किनबेच भएका छन् ।
यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।