काठमाडौं । नेपालमा विद्युतीय दुरुपयोग गरि हुने प्रकारको अपराध बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले यस्तो सजग बनाएका हुन् ।
यसका लागि केही आपराधिक समूह नै सक्रिय रहेको ब्यूरोको भनाई छ । ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमोलगायतमा कल गर्ने गरेको पाइएको छ।
त्यसपछि अनैतिक कुराकानी र अश्लिल कृयाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने भन्दै सचेत हुन आग्रह गरिएको छ । उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्न भएपछि भिडिओ रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने गरेको प्रहरीले बताएको छ ।
धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन भनेको छ । प्रहरीले आपराधिक ब्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगर्न समेत सचेत गराएको छ ।