काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले पाउने भएका छन् । यो खोप मंगलबार काठमाडौं आउँदैछ । सो प्रयोजनका लागि सोमबार राती जहाज चीन जाँदैछ । स्वास्थ्य सेवा विभागले ५५ वर्षभन्दा माथि ६५ वर्षको बीचको उमेर समुहमा यो खोप वितरण गर्ने निर्णय गरेको हो ।
यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गर्ने तयारी सरकारको छ । यो खोप शिक्षक र सवारी चालकले समेत पाउने छन् । यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिएको छ । उनीहरुले दोस्रो डोज खोप भने पाएका छैनन् ।
पहिलो डोज भारतीय लगाएका जेष्ठ नागरिकले चिनियाँ खोप भने लगाउन मिल्दैन । अहिले ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहित दोस्रो डोज खोप लगाउनु पर्ने अवस्थामा छन् ।