विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत पुग्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट स्थलमार्ग हुँदै कुवेत पुगेको छ । विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकप र २०२३ मा चीनले आयोजना गरेको एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका खेल आगामी साता हुँदैछन् । अब नेपालले तीन खेल खेल्न बाँकि रहेको छ ।

नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल पुरा गरि कुवेत पुगेको हो । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ । शनिवार इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको नेपाली टोलीको पीसीआर रिर्पोट सबैको नेगेटिभ आएको छ । टीमले प्रशिक्षण शुरु गरेको छ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेल जितेको छ । चार खेल हारेको छ ।

समूह बी मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा रहेको छ । सो समूहमा चाइनिज ताइपेई भने अङ्कविहीन छ । यो समुहमा नेपाल सबैभन्दा कमजोर मुलुक हो । फिता वरीयतामा अष्ट्रेलिया ४१ औं, जोर्डन ९५ औं, चाइनिज ताइपेई १४१ औं र नेपाल १७१ औं स्थानमा रहेका छन् । सोहीकारण तीन वटै खेल नेपालका लागि कठिन भने हुनेछ ।