चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् ।

तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको छ । यसअघि चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोपलाई समेत डब्लुएचओले प्रयोगको अनुमति दिइसकेको छ । सो खोप नेपालमा समेत प्रयोग भइरहेको छ ।

सिनोभ्याक खोप भने चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ मुलुकले प्रयोग गरिसकेका छन् । यो खोप १८ वर्षभन्दा माथिका मानिसहरूका लागि प्रयोगको अनुमति दिइएको छ ।

साथै डब्लुएचओ फाइजर, बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनमा उत्पादन गर्ने खोपलाई समेत अनुमति दिएको छ । यसले विश्वभर खोप सप्लाईमा सहयोग पुग्ने विश्वास लिइएको छ ।