भारतमा दैनिक संक्रमण साढे १ लाख हाराहारी मात्र

photo : Noah Seelam / AFP - Getty Images

नयाँ दिल्ली । कोरोना भाइरसको चपेटाबाट छिमेकी मुलुक भारत क्रमशः बाहिर निस्कँदैछ । खासगरी राजधानी दिल्लीले चामत्कारिक रुपमा कोरोना नियन्त्रण गर्न सफल भएसँगै यहाँ अन्य राज्यमा समेत कोरोनाको वृद्धि घटेको छ ।


तीन साता अगाडी सम्म दैनिक ४ लाख संक्रमित भेटिएकोमा अहिले यो संख्या मात्र डेढ लाख र त्यस भन्दा पनि कम मानिसमा झरेको छ । संक्रमितको तुलनामा निको हुने मानिस धेरै छन् । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजार बढी हो ।

अब भारतमा संक्रमितको संख्या २ करोड ८३ लाख ६ हजार ८३३ पुगेको छ । १८ वैशाखमा भारतमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । २४ वैशाखमा भारतमा सबैभन्दा माथि ४ लाख २२ हजार २५७ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मात्र २८ सय ५ संक्रमितको मृत्यु भएको छ । यसले मृत्युदरमा समेत उच्च दरमा कमी आएको पाइएको छ । भारतले दैनिक ४ हजार भन्दा बढी मानिस गुमाइरहेको थियो । अब भारतमा कुल मृत्यु ३ लाख ३५ हजार ११४ पुगेको छ ।