कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् ।
यो जहाज सिंगापुरमा दर्ता भएको एक्स–प्रेस पर्ल हो । जहाजमा दुई सातादेखि आगो लागेको थियो । आगो निभाइएको छ । तर, अब जहाज डुब्ने क्रममा छ । बीबीसीका अनुसार सयौं टन इन्धन टयाङ्क लादिएको उक्त जहाज चुहिए समुद्री जीवमा ठूलो असर पर्ने भएको छ । भारतीय र श्रीलङ्काली नाभीहरु केही दिन यता आगो निभाउन प्रयासरत थिए ।
आगो निभेपनि जहाज टुक्रिन र डुब्नबाट जोगाउन नसकिएको समाचारमा उल्लेख छ । समुद्री छाल र मौसमी हावाले पोर्ट अफ कोलम्बो बाहिर भइरहेको उक्त अपरेशनमा बाधा उत्पन्न गराइ रहेको छ । नाइट्रिक एसिडसहित जहाजमा लादिएको इन्धनसहितको सामग्री डुबे समुद्री फेदमा रहेका जीव नष्ट हुने चिन्ता बढेको छ । नेगोम्बोको तटीय क्षेत्रमा पानीमाथि इन्धन उत्रिएको छ ।
श्रीलंकाको मत्स्य मन्त्रालयले उक्त क्षेत्रमा तत्काल माछा मार्ने गतिबिधि रोक्न भनेको छ । जहाजमा करिब २५ टन एसिड भरिएको थियो । नाइट्रिक एसिड चुहिएर जहाजमा आगो लागेको हो । सिंगापुरको एक्स प्रेस पर्लले भारत र कतारसँग जहाजलाई सो स्थानमै छोड्न अनुमति मागे पनि ती राष्ट्रले दिएनन् ।
तर श्रीलङ्काले सहमति दिएको थियो । सरकारको यो कदमको सर्वसाधारणले आलोचना गरिरहेका छन् । १८६ मिटर लामो जहाज १५ मेमा भारतीय बन्दरगाह हजिराबाट एक हजार ४८६ कन्टेनर बोकेर प्रस्थान गरेको थियो ।