मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ ।

राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने छ । २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । झण्डै तीन महीना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ ।