काठमाडौं । १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ वर्ष पुगेको छ ।
कंचनपुर जिल्ला, भीमदत्त २ उल्टाखामकी निर्मलाको एक वर्ष अगाडी बलत्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
यसबीचमा संसारभरबाट यस घटनाको आलोचना भयो । थुप्रै आन्दोलन भए । सरकारले पनि आधा दर्जन छानविन समिति र अनुसन्धान टोली खटायो ।
मानवाधिकार र संचारमाध्यमले आफ्नो हिसावले रिर्पोट ल्याइरहे । तर, अपराधी अझै पनि खुलेआम हिडिरहेको छ ।
यसबीचमा गृह प्रशासन निरिह देखियो । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका गैरजिम्मेवार अभिव्यक्तिले यो घटनालाई अझ रहस्यमय बनाउँदै लगेको छ ।
कंचनपुर उल्टाखाम अझै पनि सामान्य हुन सकेको छैन । निर्मलाको परिवारका सदस्य अझै पनि त्रासमा छन् ।
किनकी मुटुको टुक्राभन्दा प्यारी छोरीको कसैले निर्मम हत्या गर्छ र हत्यारा पत्ता लाग्दैन भने स्वाभाविक रुपमा परिवारमा त्रास जारी रहन्छ ।
गृह प्रशासन भने अझै पनि यो घटनाको अपराधीको नजिकसम्म पुग्न सकेको छैन ।
यसबीचमा ८० भन्दा बढी व्यक्तिको डीएनए टेस्ट तथा हजारौं मानिससँग प्रहरीले बयान लियो । तर, अपराधी को हो पत्ता लगाउने वैज्ञानिक विधि प्रहरीसँग छैन ।