कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ ।

बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका हुन् ।

यसरी आउने खोप अनुदानमा आउने छ । त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिने घोषणा समेत बाइडेनले गरेका छन् ।
विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो। खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् कुल ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। यसमध्ये कति नेपालमा आउने छ भन्ने चाँही दुतावासले पनि खुलाएको छैन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने उल्लेख गरेका छन् ।