आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका आजबाट निषेधाज्ञा हल्का खुकुलो हुँदैछ । एक हप्तासम्म खाद्यान्न पसल समेत बन्द भएको काठमाडौंमा अब केही खुकुलो बनाइएको हो । उपत्यकामा जेठभर निषेधाज्ञा भने जारी रहने छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न सकिन्छ । निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइन्छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थल भने बन्द नै रहनेछन् । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न सकिनेछ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् ।

वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक उपत्यकामा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउने नियम छ । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन भने पाइने छैन ।